सुनुवार सेवा समाज युकेको बार्षिक साधारण सभा सुसम्पन्न : नयाँ कार्यसमिति गठन

Tuesday, 12 August 2008 00:25 administrator
Print PDF

newsflash1अल्पसंख्यक प्रवासी आदिवासी जनजाती सुनुवार कोंइँचहरू विच सहयोग, सुसम्वन्ध कायम राख्न र आपतकालीन अवस्थामा विशेष कल्याणकारी सहयोग पुर्याउने हेतुका साथै त्यसको अतिरिक्त कोंईच भाषा, लीपि, साहित्य, कला, संस्कृति, आदि जस्ता परम्परागत पक्षलाई निरन्तरता दिनका लागि र जातीय विकासको जगको रुपमा रहेको हरेक पक्षहरूमा जागरण, उजागर तथा संरक्षण र सम्वर्द्धन गर्ने गराउने उद्देश्यलाई सुसेस युकेले प्रमुख रुपमा आत्मसाथ गरेको छ ।

 

वर्तमान अवस्थामा सुसेस युकेले आत्मसाथ गरेको उद्देश्यहरूलाई परिपुर्ति गर्नका खातिर मिति २७ मे सन् २००७ का दिन फार्नवोरो स्थित व्रिटिस लियाजेण्ट क्लबमा प्रथम वैठक वसी प्रारम्भिक रुपमा सुनुवार सेवा समाज युके स्थापना भएको थियो । सोहि वैठकको निर्णयको आधारमा विजय मुखियाको अध्यक्षतामा एघार जनाको संख्यामा कोअर्डिनेसन समितिको गठन गरिएको थियो भने पाँच जना सदस्य रहेको एउटा सल्लाहकार समिति पनि गठन गरिएको थियो । उक्त कोअर्डिनेसन समितिले छ महिनाको अवधि भित्र अधिवेसन मार्फत नयाँ कार्य समितिको चयन गराउनु पर्ने निर्णय समेत पारित गरिएको थियो । सोहि अनुरुप २४ जुलाई ०७ का दिन नर्थ क्याम्प स्थित वेबल स्कुलमा युकेमा वसोवास गरिरहेका सम्पुर्ण कोंइचहरूको उपस्थितिमा सुनुवार सेवा समाज युकेको प्रथम अधिवेशन सम्पन्न भई अस्थाई रुपमा गठन गरिएको उक्त समितिलाई नै अधिवेशनले सर्वसम्मतिमा आगामी दुई वर्ष कार्य अवधिको लागि सुनुवार सेवा समाज युकेको प्रथम कार्य समितिको रुपमा चयन गरेको थियो ।

प्रथम कार्य समितिको कार्यावधि सुनुवार सेवा समाज युकेको विधान २००७ वमोजिम समाप्त भई ५ डिसेम्बर २००९ को दिन वसेको साधरण सभाले नयाँ कार्यसमितिको चयन गरेको छ । नयाँ कार्यसमितिको चयनको निमित्त स्थापीत निर्वाचन समितिको संयोजक मुकुन्द सुनुवारले समितिमा उम्मेदवारीको लागि आएको नामावलीहरू उपर उपस्थित सभामा आवश्यक छलफल तथा परामर्श गरि अन्तिम रुप दिनु भएको थियो । जसअनुसार अध्यक्षमा श्री रामकृष्ण सुनुवार, उपाध्यक्षमा श्री जङ्ग सुनुवार, सचिवमा डा। श्री तेज सुनुवार, उपसचिवमा श्री दिलिप सुनुवार, कोषाध्यक्षमा श्री पुर्ण सुनुवार, सहकोषाध्यक्षमा सुश्री टिना सुनुवार र सदस्यहरूमा श्री भक्तमान सुनुवार, श्रीमति मन्जुदेवी सुनुवार, सुश्री पुष्पा सुनुवार, सुश्री सोनिया सुनुवार र श्री सिसिर सुनुवार गरि जम्मा ११ जनाको दोश्रो कार्यसमितिको चयन गरिएको छ ।

संस्थाका अध्यक्ष विजय मुखियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सल्लाहकार श्री विरु सुनुवार हुनुहुन्थ्यो भने अतिथिहरूमा श्री जय प्रकाश सुनुवार, श्री खविन्द्र सुनुवार, श्री किसोर सुनुवार रहनु भएको थियो । उक्त कार्यक्रममा संस्थाका निवर्तमान सचिव केदार सुनुवारले करिव तीन वर्षभित्र भएको प्रतिवेदन छोटकरीमा प्रस्तुत गर्नुभएको थियो र अध्यक्ष ज्युहरूले आफ्नो कार्यकालको कार्यप्रगति विवरणहरू प्रस्तुत गर्ने क्रममा आफु संस्थामा रहँदा कार्यकारिणी सदस्यहरुवाट हुनु गएको उपलव्धी तथा गल्ती दुवै पक्षहरुलाई औंल्याउँदै संस्थागत रुपमा कुनै पनि काम संचालन हुन्छ भने त्यस्ले मौलिकता प्राप्त गर्न र लक्ष्यसम्म पुग्न सफल हुन्छ भन्ने धारणा प्रस्तुत गर्नु भएको थियो । यस्तैगरि कोषाध्यक्ष श्री होम सुनुवार ज्युले सम्पुर्ण आर्थिक व्यवस्थापन सम्वन्धका वारेमा उपस्थितहरूलाई प्रकाश पार्नु भएको थियो । मन्तब्यकै क्रममा उपसचिव धर्म बिक्रम सुनुवारले युकेमा रहेका सम्पुर्ण सुनुवारहरुले न्युनतम रकम तिरेर भएपनि सदस्यता लिनुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै गरि प्रमुख अतिथि विरु सुनुवारले सवैको मनोभावनालाई टिप्पणी गर्दै समाजमा प्रतिविम्वित भएर वाँच्नु सक्नु पर्छ । संधै सदभावनामय विचारको उजागरण गरे मात्र समाज भित्रको संस्था र संस्था भित्रको एक कर्मनिष्ठ सदस्य भएर वाँच्न सकिन्छ भन्नु भयो । ईरोर एण्ड इम्प्रोभमेण्ट भन्ने वैज्ञानिक भनाईलाई आजका युगका प्राणीहरुले पालना गर्नु पर्ने पनि वताउनु भयो । समाजले वनाएको संस्था भित्र वाँच्न र संस्थाले वनाएको कार्यभार सदस्य भएर संस्थालाई सहि मार्गदर्शनमा डोर् याउन आजका जुन सुकै संस्थाका प्रतिनिधिहरुको गहन जिम्मेवारी भएको बताउनु भयो ।

उपाध्यक्ष बद्री सुनुवारले आपुनै कोँईच भाषामा आफु जुनसुकै वेला पनि संस्थाको को हितको लागी लागिपरिरहने वताउनु भयो भने संस्थाका सवै सदस्यहरुले मिलिजुली संस्थालाई माथि पुराउनु पर्नेमा पनि जोड दिनु भयो । सल्लाहकार किसोर सुनुवारले आफु आज मन्दिरमा आएको सम्झंदै वहाँले आपुनो संस्थालाई पवित्र मन्दिरको संज्ञा दिनुभएको थियो । समाज भित्र रहेर सवैजना पारदर्शिता भएर वाँच्नु जस्तो ठुलो कुरो आजको समाजमा अरु नभएको पनि वताउनु भयो ।

मन्तव्यको क्रममा नव निर्वाचित अध्यक्ष रामकृष्ण सुनुवारले भावी दिनहरूमा सम्पुर्ण अग्रजहरूको सहयोगमा मात्रै संस्थाले संस्थागत विकास गर्न सफल हुन्छ र संस्थामा रहेर आफुले वफादारीका साथ आपनो कार्यभार सम्हाल्ने आश्वासन दिदै ईन्टरनेट मार्फत द्येउसी भैलो खेलेको रकम जम्मा ४५६ पउण्डको चेक पनि हस्तान्तरण गर्नु भएको थियो भने सचिव डा। तेज सुनुवारले विगतका गल्तीहरूलाई नदोहोर्याउने प्रवृत्तिको विकास गर्न सकेको खण्डमा र कुनै पनि नयाँ श्रृजनात्मक कार्यमा आफुलाई संधै संलग्न गराइरहन सकेमा सवैमा आत्मनिर्भर वढ्दै जाने भएको हुनाले यस्ले संस्थालाई समेत सकारात्मक दिशा तर्फ अग्रसर गराउन सहयोग पुर्याउँछ भन्नु भएको थियो । एकाइसौं शताब्दीको संघारमा हिड्ने मात्र होइन युगको मागलाई पनि वुझेर अगाडि वढ्नको लागी युवाशक्तिहरुलाई परिचालन गरेर हरेक क्षेत्रमा सकृय वनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

अन्त्यमा, नवगठित कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरूलाई निर्वाचन संयोजक श्री मुकुन्द सुनुवारले ओहदाको प्रमाणपत्र प्रदान गर्नु भएको थियो । किरातहरू सुनुवारहरूको महान चाड उधौली पूजा फोल षादरको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा शुभकामना आदान प्रदान गरिएको थियो । यसै सिलसिलामा नव निर्वाचित सचिव श्री तेज सुनुवारले हालै मात्र विद्यावारिधि हासिल गर्नु भएकोमा वहाँलाई सम्पुर्ण वेलायतवासी कोँइँचहरूको तर्फवाट धन्यवाद तथा हार्दिक वधाई ज्ञापन गरिएको थियो । कार्यक्रमलाई स‌स्थाको सचिव केदार सुनुवार तथा सह सचिव धर्म बिक्रम सुनुवारले संचालन गरेका थिए । कार्यक्रम करिब-करिब तोकिएको समय भन्दा केहि समय पछाडि संचालन भएतापनि संचालक द्वएले समय भित्रनै कार्यक्रमको सबैपक्षलाई समाबेश गर्न भ्याएका थिए ।

Last Updated on Tuesday, 26 January 2010 11:45

News By Month

Search

Submit Us

  • If you have articles, videos and photo then please submit in below e-mail address:
  • submit@sunuwaruk.org

Online User

We have 2 guests online