हिउँदे सिरेटोहरुमा सोल्‍टिनीहरु  - केदार सँकेत

आँके नमसेवल - होम सुनुवार

भेडाच्याङ्ग्राहरुको देश - सरुभक्त

हिमालमन्तिर
हिउँझैं फुल्ने

हिमाली भेडाच्याङ्ग्राहरु

खर्क र चरनका यात्रामा
निश्चल अबोधताको जिन्दगी बोकेर
दुनियाँका सबभन्दा पबित्र अज्ञानीहरुझैं

बथानहरुमा जन्मन्छन्
बथानहरुमा हुर्कन्छन्
परिचयको साँघुरो क्षेत्रफलभरि
उनीहरु कसैलाई चिन्छन् भने
कि त भेडीगोठका गोठालाहरुलाई चिन्दछन्
कि त भेडीगोठका भोटे कुकुरहरुलाई चिन्दछन्

चिसो - चिसो प्रक्रितिमा
नसिलाइएका न्यानान्याना उन र पश्मिना लाएर
उनीहरु गोठालाका 'सुई ! सुई !' सिठीहरुलाई

र भोटे कुकुरका 'ह्वाउ ! ह्वाउ !' भुकाईहरुहरुलाई
बिश्वासका गुरुमन्त्र सम्झन्छन्,
प्रत्येक बर्ष भेडाच्याङ्ग्राहरु
बिश्वासको महान यात्रा गर्छन्
र हिमाली गोठहरुबाट
ठुला ठुला शहर-बजारका
पक्कीपक्की सडकहरुमा आइपुग्छन्
उनीहरु बुझ्दैनन्
उनीहरु किन हिमालबाट शहरतिर ल्याइन्छन्

उनीहरु बुझ्दैनन्
उनीहरु किन कागजका टुक्राहरुमा बेचिन्छन्
र बथानहरुबाट छुट्याइन्छन्,
अवश्य्य भेडाच्याङ्ग्राहरुलाई
बथानहरुबाट छुट्याइँदा

"भ्याँ ! भ्याँ !" पीडा हुन्छ
अवश्य भेडाच्याङ्ग्राहरुलाई
घाँटीमा खुकुरी रेटिँदा

"प्याँ ! प्याँ !" पिडा हुन्छ
तर,
भेडाच्याङ्ग्राहरुको देशमा
भेडाच्याङ्ग्राहरुलाई जीवनको कुनै अर्थ थाहा हुँदैन
भेडाच्याङ्ग्राहरुको देशमा
भेडाच्याङ्ग्राहरुलाई म्रित्युको अर्थ थाहा हुँदैन |

 

+++++++